१५ दिनभित्र सडक खाली गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडक क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न कडा कदम चाल्दै १५ दिने अल्टिमेटम जारी गरेको छ।

सार्वजनिक सूचना जारी गर्दै उपमहानगरले सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा रहेका अनधिकृत संरचना हटाउन स्पष्ट समयसीमा तोकेको हो ।
सूचना अनुसार सडकको दुवैतर्फ नालाको बाहिरी किनारबाट सात फिटभित्र बनाइएका टहरा, होर्डिङ बोर्ड लगायतका संरचना १५ दिनभित्र अनिवार्य रूपमा हटाउनुपर्नेछ । तोकिएको समयसीमा नाघेमा उपमहानगरपालिकाले आफैँ हटाउने चेतावनी दिँदै त्यसबाट हुने क्षति सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार उक्त क्षेत्रमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा वृक्षारोपण योजना कार्यान्वयन गर्न आवश्यक भएकाले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो। साथै, अतिक्रमण हटाउँदा लाग्ने खर्चसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित पक्षबाट असुलउपर गरिने जनाइएको छ।
यसअघि पनि विपी चोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाउन दिएको निर्देशन अटेरी भएपछि उपमहानगरले डोजर प्रयोग गरी संरचना हटाएको थियो। हाल सो क्षेत्रमा फुटपाथ निर्माण र हरियाली प्रवर्द्धनको काम भइरहेको छ।
यता, स्थानीयवासीले भने दीर्घकालीन समाधानका लागि एकीकृत मापदण्ड आवश्यक रहेको बताएका छन्। बारम्बार अतिक्रमण भन्दै संरचना हटाउँदा आर्थिक क्षति बेहोर्नुपरेको गुनासो गर्दै नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले स्पष्ट नीति बनाएर मात्र निर्माण गर्न दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्