तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुका ९ जना उम्मेदवारको जमानत जफत

सोलुखुम्बु I सोलुखुम्बु, फागुन २५ गते । एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका १२ जना उम्मेदवारमध्ये ९ जनाको जमानत जफत भएको छ ।

सोलुखुम्बुमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई, श्रम संस्कृति पार्टीका बियस राई, उज्यालो नेपाल पार्टीका पेम्बा छिरि शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतको जमानत जफत भएको छ । 

त्यस्तै, जनता सामाजबादी पार्टी नेपालका ल्हाक्पा शेर्पा, मितेरी पार्टी नेपालका श्रीध्वज तामाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनकुमार गुरुङ, आम जनता पार्टीका गुणराज भट्टराई र नेपाल मजदुर किसान पार्टीका कमलबहादुर मगरको जमानत जफत भएको हो ।

८५ हजार ५१५ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४०१ मत खसेको थियो । त्यसमध्ये ३८ हजार ५६६ मत सदर भएको छ । त्यसमध्ये विजयी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत बापत १० हजार रुपियाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता पाउँदैन । त्यसैलाई ‘जमानत जफत’ भनिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button