कञ्चनपुरका ४८ फर्म तथा विक्रेताहरू कारबाहीमा

कञ्चनपुर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप बढ्न नदिन सरकारले जारी गरेको बन्दा बन्दीको समयमा प्रशासनको निर्देशनको अवज्ञा गर्ने कञ्चनपुरका ४८ फर्म तथा विक्रेताहरूलाई कारबाही गरिएको छ ।
संक्रामक रोग नियन्त्रणमा बाधा पुर्याउनेलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संक्रामक रोग ऐन, २०२० अन्तर्गत पहिलो पटक कारबाही गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।
संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ मा बाधा पुर्याउनेलाई एक सय रुपैयाँ जरिवानादेखि एक महिनासम्मको कैद सजाय गर्न सकिने व्यवस्था उल्लेख छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार, कञ्चनपुरका विभिन्न स्थानमा रहेका ४८ फर्म तथा विक्रेताहरू मध्ये मध्यम खालको त्रुटि गर्ने १३ फर्म तथा विक्रेतालाई एक सय रुपैयाँ जरिवाना गराइएको छ ।
त्यस्तै, गम्भीर खालको त्रुटि गर्ने १७ फर्म तथा विक्रेताहरूलाई १५ दिनसम्म र अति गम्भीर खालको त्रुटि गर्ने १८ फर्म तथा विक्रेताहरूलाई २० दिन कैद सजाय हुने ठहर गरिएको छ ।
यद्यपि कैद सजाय पाएका फर्म तथा विक्रेताहरूले प्रतिदिन कैद बापत तीन सय रुपैयाँका दरले राजश्व दाखिला गरी प्रमाण पेस गरेमा कैद मिनाहा हुने, अन्यथा कानुन बमोजिम पक्राउ गरी थुनामा राखिने भएकोले सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सदरमुकाम महेन्द्रनगर बजारसहित पूर्वपश्चिम राजमार्ग क्षेत्रका बजार क्षेत्रमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा लकडाउन पालना नगरेको, भौतिक दुरी कायम नगरिएको, सुरक्षाका लागि आवश्यक प्रक्रिया पूरा नगरेको, कालोबजारी गर्ने तथा म्याद सकिएका खाद्यवस्तु बिक्री वितरण गर्ने गरेको पाइएकोले त्यस्ता व्यापारीहरूलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो ।
सबैभन्दा बढी किराना र खाद्यान्न बिक्रेता, औषधि व्यवसायी, मेडिकल र एग्रोभेट सञ्चालक कारबाहीमा परेका छन् ।
सजाय चुक्ता नभएसम्म उक्त फर्महरू सञ्चालन गर्न समेत निषेध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्