तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा १६५ केन्द्रको मतपेटिका मतगणना स्थलमा आइपुग्यो, मतगणना भोली

मकवानपुर। मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याइने क्रम जारी छ ।

बेलुकी ९ बजेसम्म जिल्लाका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्र अन्तर्गत १६५ केन्द्रको मतपेटिका आइपुगेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

मतपेटिका मतगणना स्थल हेटौँडा–४ स्थित भुटानदेवी माध्यमिक विद्यालयमा आउने क्रम जारी रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरि प्रसाद ढकालले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नं। १ मा रहेका १७८ मतदान केन्द्रमध्ये १०५ केन्द्रको मतपेटिका मतगणना स्थलमा आइपुगेको छ भने ७३ केन्द्रको मतपेटिका आउन बाँकी रहेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं। २ मा रहेका १९६ मतदान केन्द्रमध्ये ६० केन्द्रको मतपेटिका आइपुगेको छ भने १३६ केन्द्रको मतपेटिका आउन बाँकी रहेको प्रमुख ढकालले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज भएको मतदानमा करिब ५९ प्रतिशत मत खसेको बताउनुभयो ।  कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ जनाले मतदान गरेका छन् । दुवै क्षेत्रका गरी ३७४ मतदान केन्द्रमध्ये १६५ केन्द्रको मतपेटिका मतगणना स्थलमा आइपुगेको छ भने २०९ केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेको उहाँले बताउनुभयो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सबै मतपेटिका आइपुगेपछि भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button