तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाधामा विहान १० बजेसम्म ४० हजार भन्दा बढी मत खस्यो

जनकपुरधाम।धनुषा जिल्लामा विहान १० बजेसम्ममा ४० हजार भन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। जिल्लाका ६४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो र सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलका अनुसार जिल्लाका ४ निर्वाचन क्षेत्रमा जम्मा ५,१४,५७१ मतदाता रहेका छन्। विहानको समयमा मतदानको गति कम भए पनि महिलाले घरको काम सकेपछि मतदान केन्द्रमा भिड बढ्ने अनुमान गरिएको छ।

मतदान केन्द्रमा मोबाइल प्रयोग पूर्णरूपमा निषेध छ र मतदातालाई खान तलासी गरेर मात्र प्रवेश अनुमति दिइएको छ। साथै, पासबिना मोटरसाइकल र अन्य सवारी साधन सञ्चालनमा पूर्णरूपले रोक लगाइएको छ।

निर्वाचन सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालित छन्। मतदानको क्रममा जिल्लाभर कुनै अप्रिय घटना नभएको र युवा मतदातामा विशेष उत्साह देखिएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button