निर्वाचनका कारण कोहलपुर नगर अस्पतालको प्रसूति सेवा अस्थायी रूपमा बन्द
बाँके। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी तथा कर्मचारी खटाइएपछि कोहलपुर नगर अस्पतालको प्रसूति सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
कोहलपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै फागुन २२ गतेसम्म प्रसूति सेवा स्थगित रहने जनाएको छ। निर्वाचन प्रयोजनका लागि कर्मचारी परिचालन गर्दा सेवा प्रभावित भएको सूचनामा उल्लेख छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार कर्मचारी नामावली माग हुँदा स्वास्थ्य क्षेत्रका कर्मचारीको विवरण पनि पठाइएको थियो। छनोटका क्रममा प्रसूति गृहमा कार्यरत कर्मचारीसमेत निर्वाचनमा खटाइएका छन्। “निर्वाचन आयोगले खटाएको स्थानमा कर्मचारी गइसकेका छन्,” उहाँले भन्नुभयो, “अत्यावश्यक सेवा प्रवाहका लागि वैकल्पिक उपाय अपनाइनेछ।”
प्रसूति सेवा अवरुद्ध अवधिमा आपत्कालीन उपचार आवश्यक परेका बिरामीलाई भेरी अस्पताल मा रिफर गरिने जनाइएको छ।
यसैबीच, बाँकेका अन्य केही पालिकामा पनि निर्वाचनका कारण स्वास्थ्यकर्मी अभाव हुँदा प्रसूति सेवा प्रभावित भएको बताइएको छ। निर्वाचन तयारी तीव्र बन्दै जाँदा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।








प्रतिक्रिया राख्नुहोस्