तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतका विभिन्न स्थानबाट निर्वाचन विरोधी गतिविधि गर्ने आठ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने आठ जनालाई जिल्लाका विभिन्न स्थान पक्राउ गरेको छ । 

प्रहरीले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन विरोधी गतिविधि गर्ने आठ जनालाई नियन्त्रण लिएर कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपानेलाई सुर्खेतको वीरेन्द्रनगर–१, बाङ्गेसिमलबाट पक्राउ परेका हुन् । न्यौपाने वीरेन्द्रनगर–१, बाङ्गेसिमलका स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अन्य पक्राउ पर्नेमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३० वर्षीय (डेबिट परियार) भनिने धिर दर्जी, कान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य (सीसीएम) ४१ वर्षीय कर्णबहादुर विसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेपाल कम्युनिस्ट पार्टी बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजुकुमार पौडेल, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) सुर्खेत जिल्ला कमिटीका सचिव ५४ वर्षीय रत्नबहादुर वली, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–९, का वडा कमिटी सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, का ३८ वर्षीय मानबहादुर मल्ललाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका धिर दर्जी कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७, का स्थायी बासिन्दा हुन भने कर्णबहादुर विसी कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिका–६, का स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ । यस्तै पक्राउ गरिएका श्याम कुँवर कैलालीको धनगढी उपहानगर पालिका–१२, का स्थायी बासिन्दा हुन् भने राजुकुमार पौडेल सुर्खेतको वीरेन्द्रनगर–११, का बासिन्दा हुन् । त्यस्तै रत्नबहादुर वली सुर्खेतको भेरीगंगा नगरपालिका–१२, झुल्ने गाउँका स्थायी बासिन्दा हुन् भने सोही वडाका पूर्ण तिरुवा ठुलजात्री गाउँका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको बताउनुभयो । ‘कतिपयलाई निर्वाचनविरुद्ध प्रचारप्रसारमा सक्रिय भएको अवस्थामा पक्राउ गरिएको छ भने कसरी निर्वाचनलाई सशक्त बहिष्कार गर्न सकिन्छ भनेर छलफल गरिरहेको अवस्थामा समेत पक्राउ छ,’ उहाँले भन्नुभयो । कतिपयलाई अघिल्लोपटक पनि निर्वाचनविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै ‘प्रिभेन्टिभ एरेष्ट’ गरिएको उहाँको भनाइ छ ।


सुर्खेतका २० वटा मतदान केन्द्र अति संवेदनशील, ८७ वटा संवेदनशील र ३५ वटा  सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button