मिथिला नाट्यकला परिषद् होरी महोत्सव तथा महामूर्ख सम्मेलनको तयारीमा
जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध नाट्य संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) ले हरेक वर्ष झैँ यस वर्ष पनि दुई दिवसीय होरी महोत्सव आयोजना गर्ने तयारी गरेको छ ।
परिषद्ले फागुन १६ गते शनिवार होरी महोत्सव र फागुन १७ गते आइतबार महामूर्ख सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिकले जानकारी दिनुभएको हो ।
होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ–आफ्नो टिमको नामावलीसहित परिषद्को कार्यालयमा सम्पर्क गर्नका लागि संस्थाले सवैमा आग्रह गरेको छ । मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्पराको संरक्षणका साथै प्रवर्द्धन गर्नका लागि चुनावकै समयमा भव्यता दिने तयारी गरेको संस्थाले जनाएको छ ।
स्थानीय प्रतिभालाई आ–आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्चको रूपमा मात्र नभई सांस्कृतिक चेतना फैलाउने माध्यमको रूपमा होरी महोत्सव तथा महामूर्ख सम्मेलन गरिँदै आएको छ ।
फागुन १६ गते आयोजना हुने होरी महोत्सवमा विभिन्न होरैया टिमहरूको सहभागिता रहनेछ । यस वर्षको महोत्सवले विशेष रूपमा सांस्कृतिक विविधता, स्थानीय सङ्गीत, नृत्य, रङ्ग र हास्य–व्यङ्ग्यका प्रस्तुतिमार्फत जनताको सहभागिता बढाउने लक्ष्य लिएको छ ।
फागुन १७ गते सम्पन्न हुने ‘महामूर्ख सम्मेलन’मा हास्य–व्यङ्ग्यका प्रस्तुति, व्यङ्ग्यात्मक वक्तव्य, रङ्गिन प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश रहने आयोजक संस्था मिथिला नाट्यकला परिषद्ले जनाएको छ ।
यस सम्मेलनले विगतमा राजनीतिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तिहरूलाई ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएकोमा यस पटक पनि महामूर्खको खोजी गर्ने काम सुरु भएको छ । महामुखको उपाधिलाई यस क्षेत्रका ठूलोसम्मानको रूपमा लिने गरेको छ ।
यस अघिका महामूर्खहरू
मिनापको महामूर्ख बन्नका धेरैको चाहना रहने गरेको हुन्छ । विक्रम संवत् २०६१ सालदेखि सुरु भएको महामूर्ख सम्मेलनमा विगतमा उपाधि पाउनेहरूमा मैथिली कवि नरेश ठाकुर (२०६१), तत्कालीन नेकपा एमालेका नेता शीतल झा (२०६२), तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी (२०६३), तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा (२०६४), वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल (२०६५), पूर्व मन्त्री रामचन्द्र झा (२०६६), नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल (२०६७) रहनुभएको छ ।
साहित्यकार रामभरोष कापडि भ्रमर (२०६८), नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव (२०६९), डा. विजयकुमार सिंह (२०७०), उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो (२०७१), आधुनिक स्वर्गद्वार निर्माणकर्ता पवन सिंघानीया (२०७२), तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल (२०७४), जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह (२०७५), मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत (२०७६) , महजोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (२०७७) रहनु भएको छ ।
अर्थविद् डा. भोगेन्द्र झा (२०७८), जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह (२०७९), सभामुख रामचन्द्र मण्डल (२०८०) र मुख्यमन्त्री सतिश कुमार सिंहलाई २०८१ सालको महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
२०७३ सालमा भने सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव स्थगित गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्