पर्सा जिल्लामा घरदैलो केन्द्रित चुनावी अभियान, ठूला आमसभा न्यून
वीरगंज। निर्वाचन सम्पन्न हुन ८ दिन वाकी रहेको अवस्थामा पर्सामा चुनाव प्रचार शैली मतदाता सँग प्रत्यक्ष सम्पर्कमुखी देखिएको छ।

पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गत माघ ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूले विगतमा अगुवा कार्यकर्ता भेला, घरदैलो अभियान, भ्रातृ सङ्गठनसँग छलफल र साना भेलालाई प्राथमिकतामा राख्दै मतदाता भेटघाटमा व्यस्त देखिएका थिए । यता फागुन ४ गतेदेखि खुला रूपमा प्रचारप्रसार गर्न पाउने व्यवस्था भएपछि जिल्लाभर ठूला आमसभा भने खासै आयोजना भएका छैनन् ।

घरदैलो अभियानलाई बढी जोड दिनुको प्रमुख कारण निर्वाचन आचारसंहितामा कडाइ र आमसभा गर्न आयोग तथा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने प्रक्रिया रहेको बताइन्छ । आमसभा व्यवस्थापन, सुरक्षा, खर्च र समय व्यवस्थापनको जटिलताका कारण पनि उम्मेदवारहरू साना समूहमा प्रत्यक्ष मतदाता भेट्न सहज ठानिरहेका छन् । स्थानीय तहमा मतदातासँग प्रत्यक्ष संवाद प्रभावकारी हुने निष्कर्षसहित नेपाली काँग्रेसले घरदैलोमै ध्यान केन्द्रित गरेको काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताउनुभयो ।

चुनाव मुखमा आइसक्दा पनि केन्द्रीय तहका शीर्ष नेताहरूको आगमन नहुँदा चुनावी माहोल अपेक्षाकृत शान्त देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहसंयोजक बालेन साहले वीरगंजमा ‘रोड शो’ गरी फर्किनु भएको थियो भने नेकपा एमालेका नेता योगेश भट्टराई वीरगंजमा र नेत्री रामकुमारी झाँक्रीले पर्सागढी नगरपालिकामा कार्यकर्ता भेलामा मन्तव्य दिनुभएको थियो । त्यसबाहेक अन्य ठूला दलका शीर्ष नेताहरूको उपस्थिति पर्सामा हालसम्म देखिएको छैन ।

जिल्लाका विभिन्न स्थानमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता समाजवादी पार्टी नेपालले सम्पर्क कार्यालय स्थापना गरेका छन् । तर उद्घाटनपछि ती कार्यालय नियमित रूपमा सञ्चालनमा नरहेको गुनासो स्थानीयस्तरमै सुनिन थालेको छ । केही कार्यालय त औपचारिक उद्घाटनपछि बन्दजस्तै अवस्थामा रहेको देखिन्छ ।
स्थानीय मतदाताहरू भने उम्मेदवारहरूको प्रत्यक्ष भेटघाटलाई सकारात्मक रूपमा लिइरहेका छन् । घरदैलोमार्फत आफ्ना समस्या, विकासका अपेक्षा र गुनासा राख्ने अवसर निर्वाचनले दिलाएको पर्सा ठोरीका मतदाता किशोर तामाङले बताउनुभयो ।
निर्वाचन आचारसंहिता, प्रशासनिक प्रक्रिया र शीर्ष नेतृत्वको सीमित सक्रियताका कारण चुनावी अभियान घरदैलोमै केन्द्रित भएको नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्