तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा तीन सयभन्दा कम मतदाता भएका १५ मतदान केन्द्र

हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै हुम्ला जिल्ला मा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ वटा केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्।

जिल्लामा कुल ३४ हजार ३ सय ७२ मतदाता रहेका छन्। तीमध्ये सबैभन्दा कम मतदाता भएको केन्द्र ताँजाकोट गाउँपालिका–३ स्थित बानादेब आधारभूत विद्यालयमा रहेको छ, जहाँ जम्मा ५४ मतदाता छन्। उक्त स्थान गाउँपालिकाको केन्द्रबाट पैदल एक दिनको दूरीमा पर्दछ र सडक सञ्जालले नछोएको क्षेत्र हो।

सर्केगाड गाउँपालिकामा तीन सयभन्दा कम मतदाता भएका तीन मतदान केन्द्र रहेका छन्। वडा नम्बर १ को देबल आधारभूत विद्यालय तुम्चमा २ सय ४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २ सय १६ र निलकण्ठ प्रावि फुचामा २ सय ८८ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिनुभयाे।

चंखेली गाउँपालिकामा पनि तीन मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन्। डाँफे आधारभूत विद्यालय नेप्कामा २ सय ४२, रारा आधारभूत विद्यालय मेखालामा १ सय ४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २ सय १२ मतदाता रहेका छन्। यीमध्ये नेप्का गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्ने दुर्गम क्षेत्र हो।

उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा आठ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। हिमशिखर प्रावि तिलमा १ सय ३२, भृकुटी प्रावि जाँङमा २ सय ४७ र सुनखानी प्रावि हल्जीमा २ सय ९३ मतदाता छन्। यद्यपि, ती गाउँहरूका अधिकांश मतदाता हाल जिल्ला सदरमुकाम वा अन्य शहरी क्षेत्रमा बसोबास गरिरहेका छन्।

त्यसैगरी अरनिको प्रावि यारीमा १ सय ९५, खासरपानी प्रावि मुचुमा २ सय ३४, हिमालय प्रावि चालामा १ सय ५९, महावौद्ध मावि याल्वाङमा २ सय ८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १ सय ५९ मतदाता रहेका छन्।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार ती अधिकांश मतदान केन्द्रमा हाल बाक्लो हिउँ जमेको छ। यारी र न्यालु लेख क्षेत्रमा हिउँका कारण कतिपय स्थानमा पुग्न कठिन भएको छ। स्काभेटरमार्फत हिउँ पन्छ्याउने काम सुरु गरिए पनि केही स्थानमा अवस्था जटिल देखिएको उहाँले बताउनुभयाे।

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालिमा हो, जहाँ १ हजार ६३ मतदाता छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९ सय ७७ र कोट मावि रोडीकोटमा ९ सय ३६ मतदाता रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button