तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास जारीः मुख्यमन्त्री राउत

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र तथा स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेश सरकारले आफ्नो श्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरि रहेको बताउनु भएको छ ।

मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा आज वीरगञ्ज स्थित आफ्नै निवासमा सामाजिक दुरी कायम गरी आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लडने शक्ति पर्वको अवसरमा मुलुकले पाओस भन्ने कामना गर्नु भयो ।

उहाँले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले यस पर्वले नेपालीहरु विचको आपसी सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले प्रदेश २ मा आजबाट रियल टाईम पिसिआर मेसिनद्वारा जनकपुर, राजविराजमा स्वाब परिक्षण भई रहेको र वीरगञ्जमा यस अघि नै परिक्षण शुरु भएको बताउदै प्रदेश सरकार ८ वटै जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि आईसोलेशन निर्माण गर्ने तथा प्रत्येक पालिकामा क्वारेन्टाईन निर्माणमा जुटेको बताउनु भयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले नारायणी अस्पताल तथा गण्डक कोरोना अस्पतालमा रहेका संक्रमित विरामी तथा उनिहरुका उपचारका लागि खटिने चिकित्सकहरुको लागि गुणस्तरीय खाना, खाजा तथा पानीको व्यवस्थापन गर्नका लागि प्रदेश सरकारको तर्फबाट नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई २५ लाखको चेक हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, सिंहासन साह कलवार, प्रहलाद गिरी, भिमा यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विरेन्द्र यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button