तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन आयोगको आग्रह 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिता समेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न/नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न/नगराउन समेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई निर्वाचन आयोगले आग्रह गरेको छ।

राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्‍यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकाहरूलाई सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएकोले त्यस्ता कार्य नगर्न/नगराउन सम्बद्ध सबैमा आग्रह गरिएको आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवर्द्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको ध्यानाकर्षण समेत गराएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

निर्वाचन आचारसंहिता विपरीतका कार्य गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रवक्ता भट्टराईले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button