तपाईँ सुन्दै हुनुहुन्छः

‘युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्र सेवाका गुण विकास हुनु सकारात्मक’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्र सेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक पक्ष भएको बताउनुभएको छ । 

एनसीसी युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गतका सहभागीहरूका लागि राष्ट्रपति शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । 

“यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्र सेवाजस्ता गुणहरू विकास तथा प्रवर्धनको काम गर्नु खुसीको विषय हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले यस प्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका  सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको बताउनुभयो । 

नेपालका क्यारेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदान–प्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे राम्ररी बुझ्न र जान्न सकिने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button