तपाईँ सुन्दै हुनुहुन्छः

राससका सेवाको गुणस्तर र प्रभावकारिता बढाउन सुझाव

काठमाडौँ । समयमै सत्य सूचनाको प्राप्ति हरेक नागरिकको अधिकार भएको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार समितिले आफ्ना सेवाहरूलाई अझ गुणस्तर र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

राससको ६५ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज राससद्वारा केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित सेवाग्राहीसँगको छलफलमा समग्र पत्रकारिता र सामाजिक सञ्जालमा अनेक खालका सूचनाको अन्योल हुने हुनाले राससले आफूलाई थप विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिइएको हो । 

अर्धवार्षिकरुपमा आयोजना हुँदै आएको छलफलको यस शृङ्खलामा सहभागी राससका ग्राहक रहेका सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूले राससको समाचार सेवाको औचित्य रहेको बताउँदै सुधार्नुपर्ने पक्षमा सुझावहरू दिएका थिए । 

राससको व्यवस्थापन र समाचारीय नेतृत्वका तर्फबाट सुझावहरू मननसहित आवश्यक जवाफ दिइएको थियो । ग्राहकहरुका तर्फबाट समाचार छिटो छरितो सम्प्रेषण हुनुपर्ने र तथ्य–तथ्याङ्क तथा अनुवादमा शुद्धता कायम हुनुपर्नेलगायतका सुझाव दिइएको थियो ।  सेवाग्राहीहरूले समाचारमा भौगोलिक र विषयगत विविधताको प्रस्तुति दिन पनि सुझाव दिएका थिए ।

कार्यक्रममा सार्वजनिक प्रसारण संस्था नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा सङ्ख्यात्मक रुपमा सञ्चारमाध्यमको विकास भए पनि गुणस्तरीयता र आर्थिक स्थिति कमजोर भएको अवस्थामा राससजस्तो राज्यको समाचार समितिको अपरिहार्यता हुने बताउनभयो । उहाँले राससले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच विस्तार गर्न सुझाव दिनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस राष्ट्रको समाचार समिति भएकाले प्राप्त सुझावलाई ग्रहण गरी स्रोत, साधनले भ्याएसम्म सुधार गरिने बताउनुभयो । राससका महाप्रबन्धक सन्दीप राईले समय सापेक्षरुपमा सेवा विस्तार गर्ने क्रममा रासस रहेकाले ग्राहक र सरोकारवालाको सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पिएसबी, नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई, रेडियो नेपालका वरिष्ठ सम्पादक अशोक मिश्र, ‘आजको अर्थ डटकम’ का सम्पादक कमलेश डिसी, ‘नवसञ्चार डटकम’ का सम्पादक हरि घिमिरे, ‘इकर्मचारी डटकम’ का प्रबन्ध निर्देशक सन्तोष भुसाल, ‘रे टिभी’ का सम्पादक व्याकुल पाठक, ‘आफ्नै खबर डटकम’ का सम्पादक सुदीकुमार ढुङ्गाना, ‘वडापालिका डटकम’ का सम्पादक शिवप्रसाद सत्याल, ‘टेक्नोलोजी खबर डटकम’ का सम्पादक साजन सुवेदी, ‘अनलाइन पत्रिका डटकम’का प्रतिनिधि सपना विक, ‘रेड मिडिया नेट’का प्रतिनिधि विष्णुमाया पौडेल, ब्रिटिस गोर्खा रेडियोका प्रतिनिधि भीम आत्रेयलगायतले राससको समाचारको प्रभावकारिता र गुणस्तर वृद्धिका विषयमा आफ्ना सुझाव दिनुभएको थियो ।

राससका सञ्चालक सदस्य एवं आलेख प्रमुख कृष्ण अधिकारी, प्रधान सम्पादक उत्तम सिल्वाल, निर्वाचन डेस्क प्रमुख एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो र नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष कृष्ण सापकोटाले प्राप्त सुझावबारे आफ्ना शाखाका तर्फबाट जवाफ दिनुभएको थियो ।  

राससको वार्षिकोत्सवकै पूर्व सन्ध्यामा यसअघि माघ २८ गते रासस कर्मचारी युनियनले पत्रकार तथा कर्मचारीमा स्वजागरण ध्यान र माघ २९ गते रासस कर्मचारी सङ्घले ‘सन्तुलित भोजन, स्वास्थ्य जीवन’ बारे प्रस्तुतीकरणका कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button