अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवस मनाइयो

काठमाडौँ। सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार भन्ने नाराका साथ आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर त्यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
राष्ट्रपति पौडेलले सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरियो भने राज्यले नागरिकमाथि गरेको विश्वास मात्र नभई नागरिकले राज्यप्रति राखेको भरोसा पनि कमजोर बन्ने बताउन बताउनुभयो ।
राष्ट्रपति पौडेलले जनताको अपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने सत्ता, शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न गरी भ्रष्ट्राचारलाई जरैदेखि निर्मूल गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो । ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो अनिवार्य सर्त भएको बताउनुहुँदै समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा प्रत्याभूत हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रशंसा गर्दै अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुरूप भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै हुने पनि बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिममा देखिएका क्षेत्रहरूमा आयोगले प्राथमिकताका साथ अनुसन्धान र अभियोजन गरिरहेको बताउनुभयो ।
यस्तै राजश्व चुहावटको विषय पनि गम्भीर रहेकामा प्रमुख आयुक्त राईले चिन्ता व्यक्त गर्दै जिम्मेवार निकायहरूले प्रचलित कानुन विपरीत राजश्व छुट दिने र न्यून बिजकीकरण गरी राजश्व छली हुने विकृति बढ्दो अवस्थामा रहेको बताउनुभयो ।
आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको बताउँदै प्रमुख आयुक्त राईले सङ्घीयता संस्थागत हुन नसक्दा पनि भ्रष्टाचार बढिरहेको टिप्पणी समेत गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र मन्त्रीहरूको उपस्थिति रहेको थियो ।
आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा प्रमाणपत्र र नगद ३५ हजार रुपैयाँ राशीको उत्कृष्ट अख्तियार सेवा पुरस्कार,तथा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ। तस्बिर : गोपाल दाहाल / रासस








प्रतिक्रिया राख्नुहोस्