उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो । “सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।”
जापानबाट सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकास लगायत क्षेत्रमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।
जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रूपमा विद्यमान रहेको बताउनुभयो ।
उहाँले जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको एक उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।
जापानका सम्राट्को शुभ जन्मोत्सवको अवसरमा काठमाडौँस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो ।
नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले नेपालको विकासमा जापान सदैव सहयोग गरिरहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्