तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रतिनिधि सभा विघटनका कारण विधेयक निर्माण कार्य अघि बढ्न सकेको छैन’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएसँगै बनाउनुपर्ने कानुनको पहिचान, प्राथमिकिकरण तथा कानुन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभएको छ । 

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले सोधेका मौखिक प्रश्नहरूको जवाफ दिँदै कानुन मन्त्री सिन्हाले हालसम्म संविधान अनुकूल १ सय ४६ वटा छुट्टाछुट्टै ऐनहरु जारी भएको जानकारी गराउनुभयो ।

मन्त्री सिन्हाले नेपालको संविधान अनुसार बनाउनु पर्ने कतिपय ऐनको मस्यौदा तयार गरी संघीय संसदमा पेश गरिएकोमा प्रतिनिधि सभा विघटन भएका कारण विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीय निजामती विधेयक, नेपाल प्रहरी सम्बन्धी विधेयक, सशस्त्र प्रहरी विधेयक, भूमि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक लगायत ३० वटा विधेयक निष्क्रिय हुन पुगेको बताउनुभयो ।

विधायन ऐन जारी भएपछि संघीय संसदमा पेश गरिने १ सय २१ वटा विधेयकको प्राथमिकिकरणका आधारमा सूचीसहितको प्रतिवेदन संसदमा पेश गरिएको भएपनि प्रतिनिधि सभा विघटनका कारण धेरै विधेयकको मस्यौदा निर्माणको काम अगाडी बढ्न नसकेको बताउनुभयो ।  

विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनहरु र  यसबाट संशोधन गरिएका ऐनहरूको विवरण प्रस्तुत गर्दै मन्त्री सिन्हाले विभिन्न मन्त्रालयबाट नयाँ विधेयक निर्माणका लागि सहमति माग भएअनुसार कानुनको मस्यौदा निर्माणका लागि मन्त्रालयबाट सहमति प्रदान गरिएकाले आवश्यक विधेयकहरूको मस्यौदा संघीय संसदमा क्रमशः पेश हुँदै जाने बताउनुभयो ।

कानुन मन्त्री सिन्हालाई सांसद मदनकुमारी शाह गरिमाले संविधान अनुकूल गर्नुपर्ने कानुन निर्माण र त्यसको कार्यान्वयनका विषयमा प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button