जेन–जी सहिद परिवारसँग बिष्ट, न्यायका विषयमा संवाद
बाँके। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र बिष्टले जेन–जी आन्दोलनका सहिद परिवारसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नुभएको छ ।
उम्मेदवारी दर्ता गरेको तेस्रो दिन बिष्टले जेन–जी आन्दोलनका क्रममा सहिद भएका नेपालगञ्जका आयुष थापाको निवासमा पुगेर परिवारसँग छलफल गर्नुभएको हो । छलफलमा जेन–जी आन्दोलनको पृष्ठभूमि, सहिद परिवारले भोग्नुपरेको पीडा, राज्यको दायित्व र न्यायका विषयमा संवाद भएको बिष्टले बताउनुभयो ।
रेडियो नेपालसँग कुराकानी गर्दै बिष्टले जेन–जी आन्दोलनका क्रममा युवाहरूको छानिछानी हत्या भएको उल्लेख गर्नुभयो । सहिद परिवारले न्याय नपाउँदासम्म आफू चुप नबस्ने उहाँको भनाइ थियो ।
“जेन–जी आन्दोलनका सहिदहरूको न्याय सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो,” उहाँले भन्नुभयो, “यो विषयमा नेकपाको पूर्ण साथ छ र निर्वाचनपछि पनि जेन–जीका माग सम्बोधनका लागि हामी केन्द्रित हुनेछौँ ।”
बिष्टले सुशासनका विषयमा सरकारलाई पार्टीको निरन्तर सहयोग रहेको उल्लेख गर्दै जेन–जी आन्दोलन र सहिद परिवारका मागप्रति पार्टी तथा व्यक्तिगत रूपमा ऐक्यबद्धता रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार जेन–जी आन्दोलन क्षणिक आक्रोश नभई पुस्तागत न्याय र भविष्यसँग जोडिएको विषय हो ।
जेन–जी आन्दोलनमा प्रत्यक्ष सहभागी रहनु भएका बिष्टले आफ्नो उम्मेदवारी सहिद परिवार र जेन–जी पुस्ताको आवाज प्रतिनिधित्व गर्ने उद्देश्यले दिएको बताउनुभयो ।
छलफलका क्रममा सहिद आयुष थापाका बुबा सुशिला थापा मगरले आन्दोलनका क्रममा भएको घटनामा दोषीमाथि कारबाही नहुनु प्रति गुनासो व्यक्त गर्नुभयो । उहाँले दिपेन्द्र बिष्टलाई जेन–जी पुस्ताको वास्तविक आवाज भएको उल्लेख गर्दै न्यायको लडाइँमा साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी आयुषकी आमा पुनम थापा मगरले छोराको बलिदान खेर नजाओस् भन्ने चाहना व्यक्त गर्दै जेन–जी आन्दोलनले उठाएका मागलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
जेन–जी सहिद परिवारसँगको यो भेटलाई बाँके–२ मा बढ्दो राजनीतिक चेतना र न्यायमुखी बहससँग जोडेर हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्