चुनाव तयारी: व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन
बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन माघ २० गतेभित्र निर्देशन जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले यस्तो कदम चालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार, हातहतियार र त्यसमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन अनिवार्य छ। व्यक्तिगत सुरक्षाका लागि हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ। निर्वाचन सम्पन्न भएपछि अर्थात् चैत २० गतेपछि यी हातहतियार फिर्ता गरिने जानकारी दिइएको छ।
जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र अन्य आवश्यक तयारी तीव्र पारेको जनाएको छ। बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ, जहाँ १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार, एक लाख ५६ हजार ३७२ मतदाता सूचीकृत छन्।








प्रतिक्रिया राख्नुहोस्