देशलाई निकास दिन चुनाव मात्र विकल्प: प्रधानमन्त्री कार्की
काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान अवस्थाबाट लोकतान्त्रिक निकासका लागि निर्वाचन नै एक मात्र विकल्प भएको उल्लेख गर्नुहुँदै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा व्यक्त गर्नुएकाे छ।

आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले देश चुनावमा होमिएको उल्लेख गर्नुहुँदै भन्नुभयो,
“यो चुनाव सामान्य अवस्थाको होइन, मुलुकलाई निकास दिने र दिगो स्थिरतातर्फ लैजाने चुनाव हो। भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यस्ता अवस्था दोहोरिनु हुँदैन। युवाको आकाङ्क्षाअनुसार शासन चल्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा नयाँ, युवा र इमानदार प्रतिनिधि संसदमा पठाउन समुदायलाई आग्रह गर्नुभयो। “पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्दैन। अब नयाँ, युवा र इमानदार नेतृत्व आवश्यक छ,” उहाँको भनाइ थियो।
उहाँले निर्वाचनमा पैसाको प्रभाव हुन नदिन समुदायस्तरबाटै चनाखो रहनुपर्नेमा पनि जोड दिनुभयो। “विगतमा पैसाको खेल भएको गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। यसमा मतदाता स्वयं सजग हुनुपर्छ,” प्रधानमन्त्री कार्कीले बताउनुभयो।

भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक तथा सामाजिक अवस्था लगायतका विषयमा छलफल भएको थियो।








प्रतिक्रिया राख्नुहोस्