तपाईँ सुन्दै हुनुहुन्छः

नसर्ने रोग रोकथाम गर्न प्राथमिकता दिनुपर्छ : मन्त्री डा गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यसको उपचार लागतले सरकारमाथि ठुलो आर्थिक भार पारिरहेको बताउनुभयो । 

“सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा खर्च गर्दै आएको देखिन्छ । धेरैजसो खर्च रोकथामको सट्टा उपचारमा निर्देशित छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगको उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । क्यान्सर र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौँ रुपैयाँ खर्च गरिन्छ । जबकि रोकथाम कार्यक्रम कमजोर रूपमा सञ्चालन भएका छन् ।”

मन्त्री डा गौतमले नसर्ने रोग रोकथाम गर्न जीवनशैली र खानपिनमा जोड दिनुपर्ने बताउँदै यसबाट दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवा उपलब्ध भए पनि ग्रामीण र गरिब नागरिक उपचारबाट वञ्चित भइरहेका बताउनुभयो । 

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका अनुमान गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखापरेको बताउनुभयो । उहाँले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यान जस्ता रोकथामका उपायलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्‍याइरहेको जानकारी दिनुभयो ।

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोग रोकथाम गरी नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न सरकारले प्रभावकारी संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

नसर्ने रोग (एनसिडी)एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक पर्ने धारणा राख्नुभयो । कार्यक्रममा भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्हरू सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button