तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ । गत साउनदेखि मङ्सिरसम्ममा रु छ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा भारतबाट आयात भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । आव २०८१/८२ को सोही अवधिमा पूर्वी नाकाबाट रु ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवको तुलनामा चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको हो । नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उहाँले बताउनुभयो । चालु आवको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईँले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आवमा सोही नाकाबाट रु एक अर्ब १८ करोड तीन लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button