तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ बागलुङ महोत्सवमा आठ करोडको कारोबार

बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित आठौँ बागलुङ महोत्सवमा आठ करोड रुपियाँको कारोबार भएको छ । सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेका छन् । 

महोत्सव समापन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई पनि प्रवर्द्धन गर्ने बताउनुभयो । पहिला झैँ महोत्सवमा आम नागरिकको चासो कम भएपनि उनीहरुलाई उद्यमी, व्यवसायी र अन्य सबै क्षेत्रबाट जोडेर लैजान सक्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङ नगरपालिका–१, बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि सुरु भएको महोत्सव पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर  ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको विक्री वितरण तथा प्रदर्शन गरिएको थियो । 

महोत्सवमा निसीखोलामा भेडाको ऊनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रुक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवी लगायतका स्थानीय उत्पादनले बजार पाएका थिए ।

महोत्सवमा अटो मोबाइलदेखि होटल रेस्टुरेन्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनु भयो । महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुनेलगायत विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सङ्घले महोत्सवबाट सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बागलुङका लागि पाँच लाख ११ हजार १११ लाख र नेपाल पत्रकार महासङ्घ बागलुङका लागि एक लाख सहयोग प्रदान गरेको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button