तपाईँ सुन्दै हुनुहुन्छः

२७ औँ संस्करणको पोखरा सडक महोत्सव आइतबारदेखि हुने  

पोखरा । पर्यटनको राजधानी पोखरामा यस वर्षको पोखरा सडक महोत्सव यही पुष १३ गते (आइतबार) देखि सुरु हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा लेक साइड क्षेत्रको करिब साँढे ३ किलोमिटर क्षेत्रमा हुने उक्त महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको आज (शुक्रबार) महोत्सव स्थल कोमागाने पार्कमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने २७ औँ संस्करणको महोत्सव ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजना हुने अन्तिम तयारी पूरा भएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । 

महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुङ्गा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरू समावेश गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथ लगायत रहने कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । त्यस्तै, महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताउनुभयो ।

प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण  वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुभयो । महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । महोत्सवमा शान्ति सुरक्षाको सुरक्षा निकायसँगको सहकार्यमा तथा स्वयम सेवकको आवश्यक व्यवस्था गरिने निवर्तमान अध्यक्ष नरेश भट्टराईले बताउनुभयो । 

हिट्स अफ नाइन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाइभ ब्यान्ड प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिनुभयो । यस वर्ष स्थानीय कलाकारलाई बढी प्राथमिकता दिने उहाँले जनाउनुभयो । पूर्व अध्यक्ष चौबहादुर गुरुङले यस वर्ष पोखरामा रोदी घन्कने बताउनुभयो । गुरुङ तथा मगर समुदायको रोदी बस्ने चलनलाई एक समूहले पोखरामा त्यसको प्रदर्शन समेत गर्ने उहाँले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button