तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जबाट ५ महिनामा ३९ अर्ब ९७ करोड बढीको नेपाली उत्पादन निर्यात

गत वर्षको तुलनामा ८९ प्रतिशतले निर्यात वृद्धि 

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगञ्ज हुँदै आर्थिक वर्ष २०८२/०८३ को पाँच  महिनामा भारत तथा तेस्रो मुलुकतर्फ ३९ अर्ब ९७ करोड ५७ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । 

गत आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको साउनदेखि मङ्सिर महिना सम्ममा ८९ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८१/०८२ को   साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा भारत तथा तेस्रो मुलुकतर्फ २१ अर्ब १८ करोड ३४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्जस्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो । 

वीरगन्ज भन्सार नाकाउँधै आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा वीरगञ्ज नाकाबाट मात्रै २० अर्ब ७६ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी वीरगञ्ज नाकाबाट सो अवधिमा  ३ अर्ब ७ करोड ८५ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

५ महिनाको अवधिमा २ अर्ब ८७ करोड ६४ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने १ अर्ब ९७ करोड ७५ लाख मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।

साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा १ अर्ब ५९ करोड २८ लाख मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।

५ महिनामा  ९४ करोड ५५ लाख मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ । 

वीरगञ्ज नाकाबाट सो अवधिमा ७८ करोड ४ लाख मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसैगरी सो अवधिमा १ अर्ब २७ करोड ५४ लाख मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, ५७ करोड मूल्य बराबरको सवारी साधन,मेसिनरी तथा पाटपुर्जा, ७९ करोड ८९ लाख मूल्य बराबरको आयुर्वेदिक औषधि, ५० करोड ५७ लाख मूल्य बराबरको कुकुर तथा बिरालाको खाना र ७२ करोड मूल्य बराबरका बोसो मैन तेस्रो मुलुक निर्यात भएको बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो । 

बीरगञ्ज भन्सार नाकाबाट तोरीको तेल,मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा, स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button