अत्याधुनिक मेसिनबाट नवजात सिकलसेल परीक्षण सेवा भेरी अस्पतालमा
नेपालगञ्ज ।भेरी अस्पतालमा नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विशेषज्ञ सह-प्रा.डा. राजन पाण्डेका अनुसार, नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन Bio–Rad VARIANT™ nbs System प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो।
डा. पाण्डेले बताउनुभयो, “यो सेवाबाट सिकलसेल तथा अन्य रक्तसम्बन्धि वंशानुगत रोगको समयमै पहिचान, उपचार र दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्नेछ।” उहाँ सिकलसेल एनिमियाको परीक्षण र उपचारमा उल्लेखनीय उपलब्धि हासिल भएको पनि बताउनुहुन्छ।
२०७३ साउनअघि नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन। त्यसका लागि नमूना भारत पठाउनुपर्ने बाध्यता थियो र प्रत्येक परीक्षणमा बिरामीले २ हजारदेखि २५ सय रुपैयाँसम्म तिर्नुपर्थ्यो। यो रकम न्यून आर्थिक अवस्था भएका थारु समुदायका लागि ठूलो चुनौती थियो। त्यसमा पनि प्रयोगशालाको रिपोर्ट आउन कम्तीमा एक हप्तासम्म पर्खनुपर्थ्यो। रोग पत्ता नलाग्दा बिरामीहरूले देश–विदेशका अस्पताल धाउनुपर्ने, ठूलो खर्च बेहोर्नुपर्ने र असह्य दुःख सहनुपर्ने अवस्था थियो।
अब शिशुमै निःशुल्क परीक्षण हुने भएपछि थारु समुदायलाई ठूलो लाभ पुग्ने डा. पाण्डेले बताउनुभयो।
सरकारले सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा सहयोग स्वरुप वर्षमै २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअघि बाँचुञ्जेल एक लाख मात्र उपचार खर्च दिइँदै आएको थियो।







प्रतिक्रिया राख्नुहोस्