तपाईँ सुन्दै हुनुहुन्छः

बारपाक सुलिकोट–३ स्वाँरामा सञ्चालित आँखा शिविरबाट २९४ भन्दा बढी लाभान्वित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २९४ जनाभन्दा बढी सर्वसाधारणले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरको क्रममा आँखा सम्बन्धी जटिल समस्या देखिएका ९ जनाको मोतिबिन्दु शल्यक्रिया समेत सफलतापूर्वक गरिएको छ ।

मङ्सिर २८ र २९ गते सञ्चालन भएको उक्त शिविर बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।  शिविर सञ्चालनका लागि लायन्स क्लब अफ गोरखासँग समन्वय गरिएको थियो भने गोरखा लायन्स आँखा सेवा केन्द्रले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको थियो । यसका साथै नेत्रज्योति संघ र आई केयर फाउण्डेशनको सहकार्य तथा सहयोगमा शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा आँखाको सामान्य परीक्षण, दृष्टि जाँच, चस्मा सिफारिस, औषधि वितरण तथा गम्भीर समस्याको पहिचान गरिएको थियो । आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नपुगेका कारण उपचारबाट वञ्चित हुनुपरेका स्थानीयवासीका लागि शिविर निकै उपयोगी सावित भएको स्थानीयहरूले बताएका छन् । 

शिविरमार्फत पहिचान गरिएका मोतिबिन्दुका बिरामीहरूलाई आवश्यक शल्यक्रियाका लागि समन्वय गरी उपचार व्यवस्था मिलाइएको थियो ।  

स्थानीय जनप्रतिनिधिहरूले यस्ता स्वास्थ्य शिविरहरूले ग्रामीण भेगका नागरिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै परीक्षण र उपचारको महत्वबारे जानकारी दिन यो शिविर फलदायी भएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button