काठमाडौँ उपत्यकामा कोरोना परीक्षण जारी

काठमाडौँ – काठमाडौँ उपत्यकामा पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।
बिहीबार कालिमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकविक्रेता, मजदुर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो ।
ती मध्ये ७०० जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन)परीक्षण गरिएको हो ।
आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिनुभयो ।
सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुमा आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो ।
कामपाका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उहाँहरुको टेकुमा आरडिटी र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ ।
सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्