तपाईँ सुन्दै हुनुहुन्छः

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत बहस सम्पन्न

सोलुखुम्बु । सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) ले दुर्गम जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा स्थलगत रेडियो बहस सञ्चालन गरेको छ । 

स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय सर्वसाधारणका बीचमा प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विकास, सुशासन, शिक्षा, पर्यटन, कृषि, जलवायु परिवर्तन तथा स्थानीय समस्या समाधानका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा, सामाजिक विकास समितिका संयोजक तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख पुण्यराज डङ्गोल, जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरे लगायतका उपस्थिति रहेको थियो ।

रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी र भानुभक्त खड्काले सञ्चालन गर्नुभएको रेडियो बहस कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, उद्योगी, युवा व्यवसायी, कृषक, पत्रकार तथा समुदायका अगुवासहितका सहभागीहरूले स्थानीय विकास, सेवा प्रवाह, शिक्षा, सुशासन र वातावरणीय चुनौतीका विषयमा आ–आफ्ना धारणा र जिज्ञासा प्रस्तुत गर्नुभएको थियो ।

रेडियो बहसको क्रममा बोल्दै उपप्रमुख गान्धीमाया तामाङले सोलुखुम्बुको समग्र विकासका लागि कृषि, सडक, पर्यटन, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । उहाँले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका योजनाहरू अघि बढाइएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय र संयुक्त प्रयासका कारण सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमै दोस्रो कम बेरुजु भएको नगरपालिकाको रूपमा स्थापित भएको जानकारी दिनुभयो । यसले अन्य स्थानीय तहलाई पनि सुशासन र वित्तीय अनुशासनका लागि उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ ।

उपस्थित सहभागीहरूको प्रश्नको जवाफ दिँदै सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर–७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शिक्षाको गुणस्तर सुधारमा लागिपरेको भन्दै शिक्षकलाई प्रविधिमैत्री बनाउँदै सबै सरोकारवालाको सक्रिय सहभागिताबाट गुणस्तरीय शिक्षा सम्भव हुने धारणा राख्नुभयो ।

सोही अवसरमा पत्रकार भानुभक्त निरौलाले जलवायु परिवर्तनका कारण हिमाली जिल्ला सोलुखुम्बुमा देखिन थालेका असरबारे धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले प्राकृतिक मात्र होइन, मानव निर्मित जोखिम समेत बढाएको उल्लेख गर्दै यसप्रति समयमै सचेत भई दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्थलगत रेडियो बहस कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला र आम नागरिकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नुका साथै स्थानीय मुद्दा राष्ट्रिय बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button