दुर्घटनामा श्रीमान् गुमाएकी जानकी महरा घरबारविहीन, छिमेकीको घरमा किरिया बस्दै

बैतडी । घरबार विहीन भएकी बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरा छिमेकीको घरमा आफ्नो स्वर्गीय श्रीमानको किरिया बसिरहेकी छन् ।
यही मङ्सिर १८ गते मिनिट्रक दुर्घटनामा परी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो । सन्सेरीमाण्डौबाट धनगढीतर्फ जादै गरेको भे १ क १६३९ नम्बरको मिनी ट्रक सुर्नया गाउँपालिका–५ को कठेगौडमा १८ गते राती पौने १२ बजेको समयमा दुर्घटना हुँदा चालक नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि नै श्रीमान् महराले घरजग्गा सबै बेचेको हुनाले अहिले किरिया समेत छिमेकीको घरमा बस्नुपरेको जानकी बताउनुहुन्छ । उहाँ अहिले छिमेकी दलजीत महराको घरमा श्रीमानको किरिया बसिरहनुभएको छ ।
आफन्तको सहयोगमा किरिया खर्च जुटाएर बसेकी जानकी बिचल्लीमा परेको आफन्त गणेश महराले बताउनुहुन्छ । यसअघि जानकीका श्रीमानले रातदिन कुटपिट गर्ने गरेको र घरबार सबै बेचेर श्रीमतीलाई घरबाट निकालेको उहाँले बताउनुभयो । घरबाट निकालिएकी जानकी छोरा छोरी लिएर सेफ हाउसको शरणमा रहनुभएको थियो । अहिले श्रीमानको मृत्यु भएपछि काजक्रिया गर्न घर आउनुभएकी जानकी आफन्तको घरमा बसेको उहाँ बताउनुहुन्छ । “यहाँका घरजग्गा केही छैन, सबै श्रीमानले बच्नुभएको रहेछ, अहिले किरिया गर्ने कुटी पनि नभएर उहाँ समस्यामा उहाँ हुनुहुन्छ”, आफन्त गणेश महराले भन्नुभयो, “हामीहरूले सानोतिनो सहयोग गरेका छौँ, अब बालबच्चा पढाउन र बस्ने समस्या भयो,” उहाँले जानकीको घरमा सासू ससुरा कोही पनि नभएको बताउनुभयो ।
श्रीमानको कुटाइ सहन नसकेर सेफ हाउसमा बस्दै आउनुभएकी जानकी झनै समस्यामा हुनुहुन्छ । “मलाई श्रीमानले रातदिन कुटपिट गरेर घरबाट निकाल्नुभएको थियो, त्यसपछि तीन छोराछोरीलाई लिएर सेफ हाउसको शरणमा पुगेकी हुँ”,जानकीले भन्नुभयो, “यहाँ श्रीमानले सबै घरजग्गा बेचिदिनुभएको रहेछ, अब के गरु?,”
श्रीमानको मृत्युपछि काज किरियाका लागि मात्र गाउँ फर्किनुभएकी जानकी अहिले पुनः वासस्थान र बालबच्चाको भविष्यप्रति चिन्तित रहनुभएको छ । जानकीको पीडा अझै गहिरिँदै गएको छ।








प्रतिक्रिया राख्नुहोस्