तपाईँ सुन्दै हुनुहुन्छः

सिटीनेट नेपालको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न

'शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्ने सहमति'

वीरगञ्ज। शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरबीच सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गर्दै सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । 

वीरगंज महानगरपालिकाको आयोजनामा भएको बैठकमा देशभरका महानगर, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। साथै, विपद् सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक गर्ने तथा सचिवालय दर्ता गर्ने निर्णय गरिएको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।  आगामी जेठ महिनामा हुने अर्को बैठक गोदावरी नगरपालिकामा हुने भएको छ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्रा. डा. आममोदणी दीक्षित र डा. गणेश कुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता र कार्ययोजनाका विषयमा प्रस्तुति दिनुभएको थियो । उनीहरूले प्राकृतिक प्रकोप, लैङ्गिक विभेद, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्त्वबारे जोड दिनुभएको थियो।

कार्यक्रमको उद्घाटन सिटीनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगंज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रमको सुरुमा काठमाडौँ प्रमुख बालेन साहका दिवङ्गत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले गर्नुभएको थियो ।

सिटीनेटमा एसिया–प्रशान्तका १०३ सदस्य रहेका छन् । नेपालमा १६ पालिका सदस्य छन्, जसमा वीरगंज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका समावेश छन् । सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो ।

समापन सत्रमा सिटीनेट नेपालका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले  बैठकमा आएका सुझाव र अनुभवहरूले आगामी दिनमा प्रभावकारी काम गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button