उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दैै कामपा
काठमाडौँ।काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डङ्गोलको दाबी छ । उहाँका अनुसार महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको छ । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने उहाँको भनाइ छ ।
“घरमै बसे पनि हातमा केही न केही सीप हुन सक्छ । कसैलाई मीठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सीप हो । मैले के जानेको छु र ? भनेर नबस्नु होला”, उहाँले महिलाहरूलाई प्रोत्साहित गर्नुभयो ।
महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।
कामपाले सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । विसं २०७८ मा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समितिअन्तर्गत पाँच/पाँच जना रहेका अरु ६०० वटा समूह छन् । समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा रु १०० देखि ५०० सम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक दुई वर्षमा ब्याजसहित फिर्ता हुन्छ ।
कामपाभित्रका समूहमा अहिले तीन हजार एक जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सीपमूलक तालिमबाट उनीहरू आयआर्जनसमेत गर्छन् । गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । महिला सशक्तीकरणको पहिलो पाइला यही नै रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्