तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालगन्ज कनक्लेभ–२०२५’ का लागि तयारी पूरा, ‘फाइनप्रिन्ट फिभर’ मुख्य आकर्षण

बाँके। नेपालगन्जमा मंसिर ५ गते हुने ‘नेपालगन्ज कनक्लेभ–२०२५’ का लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। नेपालगन्ज डिस्कोर्षको पाँचौँ संस्करण अन्तर्गत आयोजित कनक्लेभमा यस वर्ष ‘फाइनप्रिन्ट फिभर’ विशेष केन्द्रबिन्दु हुनेछ।

कनक्लेभका निर्देशक जनक नेपालका अनुसार पुस्तक, साहित्य र समसामयिक विषयमा केन्द्रित सेसनहरू फाइनप्रिन्ट फिभरमार्फत सञ्चालन गरिनेछन्। अर्थ, समाज, राजनीति र सिनेमा संवाद पनि कनक्लेभका नियमित र प्रमुख सेसनका रूपमा रहनेछन्।

कार्यक्रममा वरिष्ठ अभिनेता तथा लेखक राजेश हमालसँग पत्रकार पवन आचार्यले विशेष संवाद गर्ने तय भएको छ। हालै हमालको कृति ‘युगदेखि युगसम्म’ प्रकाशित भएको छ।

यस वर्षको कनक्लेभमा ‘जेनजी विद्रोहपछिको नेपाल : अन्यौल र अवसर’, ‘नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना’, ‘डिजिटल युगको दोधार : प्रविधि—वरदान कि अभिशाप’ जस्ता चर्चित सेसनहरू पनि समावेश छन्। आयोजक टीएस ठकुरीका अनुसार यी सेसनहरूले नेपालगन्जलाई बौद्धिक केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखिएका छन्।

कनक्लेभको अघिल्लो दिन मंसिर ४ गते खेलकुद, खेल डकुमेन्ट्री र ‘सद्भावको सहर’ विषयमा विशेष बहस हुनेछ। त्यसकै श्रृंखलामा मंसिर ६ गते ११औँ धारा नेपालगन्ज म्याराथन आयोजना हुनेछ।

फाइनप्रिन्ट फिभरमा ‘स्वस्पर्श’ का लेखक डा. नवराज केसी, ‘चमेलीको फूल बैजनी रुमाल’ का लेखक सुबिन भट्टराई, र ‘ज्ञानिका’ का लेखक ददि सापकोटा सहभागी हुनेछन्। फाइनप्रिन्ट फिभर यसअघि नारायणगढ र पोखरामा सम्पन्न भइसकेको छ भने २०७५ र २०७७ सालमा धनगढी, नेपालगन्ज, सुर्खेत, पोखरा र नवलपुरमा पनि आयोजना गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button