तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया–बाँके क्षेत्रको नयाँ धार्मिक गन्तव्य ‘बर्फानी बाबा’ मन्दिरमा पर्यटक बढ्दै

बाँके ।बाँकेको राप्तीसोनारी–४ चुरे पहाडको काखमा अवस्थित ‘बर्फानी बाबा’ मन्दिर पछिल्ला वर्षमा धार्मिक आस्थाको केन्द्रसँगै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। नेपालगन्जबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा पर्ने यस मन्दिरमा आन्तरिक र बाह्य दुवै पर्यटकको चहलपहल बढ्दै गएको छ।

मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रकी सचिव सरिला घर्तिमगरका अनुसार राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट दुई घण्टाको पदयात्रा गर्दै चुरे क्षेत्रको मनोरम दृश्यसहित मन्दिर पुग्न सकिन्छ। धार्मिक सम्पदालाई व्यवस्थित पर्यटकीयस्थल बनाउन दीर्घकालीन संरचनागत लगानी आवश्यक रहेको उनको भनाइ छ।

राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताए। उनका अनुसार आफ्नो कार्यकालमा करिब ३० लाख रुपैयाँमा मन्दिर र २८ लाख रुपैयाँमा बाटो निर्माण गरिएको थियो। पहिले खानेपानी, विश्रामस्थल र बसोबासजस्ता सुविधाको अभाव रहे पनि हाल ती आधारभूत संरचना विस्तार भएका छन्।

यद्यपि मन्दिर क्षेत्रमा शौचालयको अभाव तथा कठिन यातायात पहुँच अझै चुनौतीका रूपमा रहेको स्थानीयहरूको गुनासो छ। मन्दिरका प्रमुख बाबा केशव गिरीले आगलागीका जोखिमबाट कुटी जोगाउन परिसर चारैतिर पर्खाल आवश्यक रहेको बताए।

पत्रकार आशिष मल्ल ठकुरीले चुरे क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटक आकर्षित गरिरहेको उल्लेख गर्दै यात्रुहरूको सहज पहुँचका लागि थप सुविधाको माग गरे। पत्रकार दिक्षा बुढाथोकीले चुरे क्षेत्रको स्वच्छ वातावरण र पदयात्राबाट प्राप्त आध्यात्मिक अनुभूति मन्दिरको मुख्य आकर्षण बनेको बताइन्।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पदयात्राको अनुभवसमेत समेटिएको ‘बर्फानी बाबा’ मन्दिर बाँके–बर्दिया क्षेत्रमा नयाँ धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदै गएको पत्रकार नबिना राउतले बताइन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button