तपाईँ सुन्दै हुनुहुन्छः

युवा पुस्तामा बदलिँदै वित्तीय बानी: डिजिटल बैंकिङ्गको तीव्र विस्तार,नगद बोक्ने परम्परागत बानीमा ह्रास 

रौतहट । रौतहटको शहर बजार मात्र होइन, ग्रामीण बस्तीहरूमा पनि पछिल्ला समयमा डिजिटल बैंकिङ्ग प्रयोगमा उल्लेखनीय वृद्धि देखिएको छ ।

केही वर्षअघिसम्म बैङ्क–काउण्टर र एटिएममै सीमित आर्थिक व्यवहार अहिले मोबाइल बैंकिङ्ग, क्युआर कोड, पोओएस मेसिन र इन्टरनेट बैंकिङ्गमार्फत सहज र छिटो हुने भएपछि नयाँ पुस्ताबाट सुरु भएको चलन गाउँ–टोलसम्म फैलिएको हो । स्थानीय अनुसार, अहिले शहरका मात्र होइन, गाउँका युवायुवतीले पनि सामान्य खरिद–बिक्रीदेखि लिएर दैनिक भुक्तानीसम्म डिजिटल माध्यम प्रयोग गर्न थालेका छन् । “दस रुपैयाँको सामान किन्दा पनि क्युआर कोड स्क्यान गरेरै भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढेको छ,” वृन्दावन–१ का स्थानीय व्यापारी रामप्रवेश पटेलको भनाइ छ । 

यस परिवर्तनले नगद बोक्ने परम्परागत बानीमा ठूलो कटौती गरेको छ । पसल व्यवसायीहरू पनि बाध्यतावश डिजिटल भुक्तानी स्विकार्न थाल्नुभएको छ । “ग्राहकले अनलाइन पैसा दिन थालेपछि हामीले पनि क्युआर कोड राख्नैपर्छ, नभए व्यापारमा असर पर्छ,” गुजराका–४ का व्यापारी आशुतोष चौधरीको भनाइ छ । डिजिटल बैंकिङ्गको विस्तारसँगै बैङ्कमा देखिने भीड घटेको बैङ्क कर्मचारीहरूको अनुभव छ ।

मोबाइल बैंकिङ्ग, एटिएम, क्युआर कोड, इन्टरनेट बैंकिङ्गलगायतका सेवाले घरमै बसेर महसुल तिर्ने, रकम ट्रान्सफर, बिल भुक्तानीजस्ता काम गर्न मिलेकाले ग्राहकलाई बैङ्क धाउनु नपर्ने अवस्था आएको छ । माछापुच्छ्रे«े बैङ्क वृन्दावन शाखाका प्रबन्धक रिभाल पौडेलका अनुसार “२४ घण्टा डिजिटल सेवा उपलब्ध भएकाले ग्राहक सन्तुष्ट छन्, समयको ठूलो बचत भएको छ ।” 

यस्तै, नव–विकास बचत तथा ऋण सहकारीका अध्यक्ष राजु तिवारीले युवा पुस्ताको पहिलो रुचि नै डिजिटल बैंकिङ्गतर्फ पुगेको बताउँदै यसले ग्रामीण बजारमा पनि वित्तीय गतिशीलता बढाएको बताउनुभयो । 

रौतहटमा अहिले ठूला सुपरमार्केट मात्रै होइन, चिया पसल, घुम्ती व्यवसाय, तरकारी बजार तथा गाउँका किराना पसलसम्म क्युआर कोड टाँसिएको देख्न सकिन्छ । होटल तथा रेस्टुरेन्ट व्यवसायीले पनि ग्राहकको माग अनुसार डिजिटल भुक्तानी प्राथमिकता प्राप्त गरिरहेको बताउनुभयो । 

“डिजिटल बैंकिङ्गपछि हरेक कामका लागि बैङ्क धाउनुपर्दैन, समय पनि बचत, सुरक्षा पनि हुने गरेको स्थानीय उपभोक्ता जितेन्द्र ठाकुरले बताउनुभयो । यता निरक्षर समुदाय, ज्येष्ठ नागरिक र प्रणाली नबुझेका ग्रामीण महिलालाई अझै प्रभावकारी वित्तीय शिक्षा आवश्यक रहेको स्थानीय वित्तीय संस्थाहरू बताउँछन् ।

बैङ्क तथा सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम, डिजिटल सिकाइ तथा सुरक्षित व्यवहारका तालिम विस्तार गर्न सके गाउँ–घरमा डिजिटल समावेशीकरण अझ द्रुत गतिमा हुने विशेषज्ञहरूको भनाइ छ । रौतहटमा युवापुस्ताबाट सुरु भएको डिजिटल बैंकिङ्गको लहरले आर्थिक व्यवहारलाई आधुनिक, पारदर्शी र गतिशील बनाउँदै लगे पनि सबै वर्गलाई समेट्न अझै सरकारी संस्था, बैङ्क तथा सहकारी बीच सहकार्य र साक्षरता अभियानको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button