धनुषामा सर्प महोत्सव शुरु
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव आजबाट सुरु भएको छ । मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा आयोजना गरिएको यो महोत्सव भोली मङ्सिर १ गतेसम्म चल्ने भएको हो ।

“सर्पको महत्व बुझौँ, सह–अस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ” भन्ने मूल नारासहित सुरु भएको महोत्सवले सर्प र मानवबीचको सहअस्तित्व, जैविक विविधता संरक्षण, र पर्यावरणीय सन्तुलनमा सर्पको भूमिकामा केन्द्रित छ । आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतीकका रूपमा हुने गरेको बताउँदै यो वातावरणका लागि महत्वपूर्ण भएको बताउनुभयो । महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्प दंशपछिको उपचार प्रक्रिया र उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था गरिएको छ । सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी र जीवित सर्प प्रदर्शनीमार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ ।

अध्यक्ष मण्डलले महोत्सवको उद्देश्यबारे थप जानकारी दिँदै सर्प र मानवबिच द्वन्द्व न्यूनीकरण गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्नु महोत्सवको मुख्य लक्ष्य भएको बताउनुभयो ।
स्थानीय नागरिक र पर्यावरण विद्हरूले यस महोत्सवलाई सराहना गर्दै सर्प संरक्षण र जैविक विविधता संरक्षण, जनचेतना फैलाउने माध्यमको रूपमा महत्त्वपूर्ण हुने आशा व्यक्त गरेका छन् । यस अघि पनि सर्प महोत्सव महोत्सव भएपनि मधेश प्रदेशमा पहिलो पटक भएको छ ।








प्रतिक्रिया राख्नुहोस्