तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार बङ्गलादेशमा श्रमिक अधिकार सुधार

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले श्रमिक सङ्गठन (ट्रेड युनियन) गठन गर्ने नियम सरल बनाएको छ ।

सरकारी गेजेटमा सोमबार प्रकाशित सूचना अनुसार, अब २० जनाभन्दा कम श्रमिक भएको समूहले पनि ट्रेड युनियन गठनका लागि आवेदन दिन सक्नेछ । यसअघि, युनियन बनाउन कम्तीमा २० प्रतिशत श्रमिकको समर्थन आवश्यक थियो ।

नयाँ आदेशअनुसार, घरायसी सहयोगीहरूलाई पहिलोपटक श्रमिकको रूपमा मान्यता दिइनेछ । साथै, गैर–नाफामूलक संस्थाका श्रमिकहरूले पनि आफ्नो श्रम अधिकार माग गर्न सक्नेछन् ।

यो सुधारले बङ्गलादेशमा लामो समयदेखि कडा नियम भएका ट्रेड युनियन गठन प्रक्रियामा सहजता ल्याएको छ, जहाँ हालसम्म दर्ता भएका धेरै युनियन निष्क्रिय थिए ।

सरकारले हालै तीन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) कन्भेन्सन पनि अनुमोदन गरेको छ, जसले कार्यस्थलमा श्रमिकको अधिकार, सुरक्षा, तथा हिंसा र उत्पीडनबाट स्वतन्त्रता सुनिश्चित गर्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button