तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको शान्ति सुरक्षा सुदृढ बनाउन सबै सुरक्षा प्रमुख प्रतिबद्ध: मुख्यमन्त्री यादव

जनकपुरधाम  । मधेश प्रदेशमा विभिन्न आन्दोलनका कारणले उत्पन्न भएको अवस्था, शान्ति सुरक्षामा परेको प्रभाव सहितका विषयमा छलफल गर्न प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका कार्यभार समेत सम्हाल्नु भएका प्रदेश मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा गृह मन्त्रालयमा भएको बैठकमा प्रदेशको समग्र सुरक्षा अवस्था तथा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सहितका विभिन्न विषयमा छलफल भएको हो ।

बैठकमा प्रदेशमा अहिले विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेश प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिनु भयो । यसका साथै पछिल्लो समयमा आन्दोलनको क्रममा कर्मचारी तथा प्रहरी माथि भएको हातपात सहितका विषयमा छलफल भएको उहाँले जानकारी दिनु भयो ।

यसका साथै प्रदेशमा रहनु भएका अतिविशिष्ट, विशिष्ट पदाधिकारीहरूको सुरक्षा सहित आम नागरिकको सुरक्षाका विषयमा छलफल हुनुका साथै प्रदेश सरकारबाट सुरक्षा निकायलाई हुनु पर्ने सहयोगको विषयमा छलफल भएको छ ।

कात्तिक २८ गते धनुषाको मिथिला विहारी नगरपालिकाको वडाध्यक्षको हत्या सहितको विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारीले प्रदेश सुरक्षा समन्वय बैठकमा जानकारी दिनुभएको थियो । बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको शान्ति सुरक्षा स्थापनाका लागि सुरक्षा निकायका प्रदेश प्रमुखहरू पूर्ण प्रतिबद्ध रहेको प्रतिबद्धता प्रकट गर्नु भएको जानकारी दिनुभयो ।

उहाँले सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताउँदै सुरक्षा अवस्था सुदृढ बनाउनका लागि गार्जियनशीप लिन पनि प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै शान्ति सुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारेको बताउनुभयो ।

प्रदेश सुरक्षा समन्वय बैठकमा मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल सहितका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button