तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी नाका एक वर्षदेखि बन्द, पर्यटन व्यवसाय प्रभावित

वीरगञ्ज । वीरगन्ज पछि पर्साको सबैभन्दा बढी भारतीय पर्यटक भित्रिने ठोरी नाका झण्डै एक बर्ष देखि बन्द हुँदा मुलुकले लाखौँको राजश्व गुमाउनु परेको छ भने ठोरी माडी क्षेत्रका पर्यटन व्यवसायी प्रभावित भएका छन् । 

दैनिक करिब ५ सयभन्दा बढी भारतीय पर्यटकहरू आउने पर्साको ठोरी नाका गत वर्षको पुष १५ गते देखि अचानक बन्द हुन पुगेको थियो । 

भारतको पश्चिम चम्पारण सहितका क्षेत्रबाट ठोरी, माडी हुँदै चितवन, पोखरा, काठमाडौँ, लुम्बिनी जानका लागि भारतीय पर्यटकहरू आउने नाका बन्द हुँदा देशकै तेस्रो पर्यटकीय केन्द्र चितवन सबैभन्दा बढी प्रभावित बनेको छ ।

गत वर्ष वैशाख १९ गतेदेखि सञ्चालनमा आएको यो भन्सार गत पुस १६ गते अचानक बन्द गरिएको थियो । भन्सार किन बन्द गरियो र कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने पत्तो छैन ।

भारतको पश्चिम चम्पारणमा करिब एक करोड बढी जनसङ्ख्या छ । भारतीयहरू परिवार तथा साथीभाइसहित घुम्नका लागि आफ्नै सवारी साधनमा ठोरी, माडीका विभिन्न होटल होमस्टे, भरतपुरका पटिहानी, मेघौली, सौराहा जस्ता पर्यटकीय ठाउँहरूमा आउने गरेका थिए । तर, यो नाका बन्द भएपछि वीरगञ्ज वा भैरहवा हुँदै आउनुपर्ने बाध्यता उनीहरुलाई परेको छ । गत वैशाखदेखि पुससम्म ठोरी नाका भएर हजारौँ पर्यटकहरू माडी तथा भरतपुर आएका थिए ।

भारतीय सवारी प्रवेशको भन्सार प्रज्ञापत्र काट्ने काम रोकिएसँगै त्यसको मार यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायीमाथि परेको छ । ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदिप थापाले देशभित्र बाह्य पर्यटक बढाउन तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन नाका सञ्चालन अनिवार्य भएको बताउनुभयो । 

भन्सार सञ्चालन भएको ८ महिनामा यो नाकाबाट हल्का सवारी साधनको भन्सार प्रज्ञापन पत्रबाट मात्रै १० लाख बढी राजश्व सङ्कलन भएको थियो भने, डेढ लाख भारतीय पर्यटक नेपाल भित्रिएका थिए । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख बिष्णु प्रसाद ज्ञवालीले गत वर्ष जनवरी १ देखि डिसेम्बरसम्म मात्रै भन्सार कार्यालय सञ्चालनको अनुमति पाएको तर त्यसपछि नवीकरण नहुँदा सञ्चालनमा आउन नसकेको बताउनुभयो । 

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले नाका बन्द हुँदा ठोरी झनै पछाडि परेको बताउँदै एकाएक नाका बन्द हुनुले देशकै पर्यटन व्यवसायलाई प्रभावित पारेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button