किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : मन्त्री परियार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।
आज सिंहदरबारमा मौरी पालक किसानहरूसँगको छलफलमा मन्त्री परियारले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उहाँले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिनुभयो ।
आगामी दिनमा पनि मौरी पालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उहाँले आश्वासन दिनुभयो । उहाँले मौरी पालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन पनि गरिरहेको जानकारी दिनुभयो ।
मौरी पालक किसानहरूले भने महको आयात रोक्नुपर्ने र नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताउनुभयो । उहाँले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्