तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र सुदृढीकरणमा युवाको भूमिकाबारे १३ बुँदे घोषणा जारी

सुनसरी।  महिला अधिकार प्रशिक्षण केन्द्र तरङ्गिनीले आइतबार विराटनगरमा कोशी प्रदेशस्तरीय युवा भेला सम्पन्न गरेको छ।

ओरेक नेपाल र युवा विकास केन्द्र सुनसरीको सहकार्यमा सम्पन्न भेलाले ‘लोकतन्त्र सुदृढीकरणका लागि युवाको भूमिका’ विषयमा १३ बुँदे घोषणा पत्र जारी गरेको हो।

भेलामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, पाँचथर, भोजपुर, इलाम र खोटाङका ५६ जना युवा प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूलाई ६ समूहमा विभाजन गरी लोकतन्त्रका चुनौती, अवसर र युवाको भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रमका सहजकर्ता द्वारिका घिमिरेका अनुसार छलफलले विधिको शासन, सुशासन, पारदर्शिता, समावेशिता, राजनीतिक स्वतन्त्रता र निष्पक्ष निर्वाचनजस्ता पक्ष बलियो भएमा मात्र लोकतन्त्र सुदृढ हुने निष्कर्ष निकालेको छ। राजनीतिक अस्थिरता, भ्रष्टाचार र शक्तिको दुरुपयोग लोकतन्त्रका प्रमुख चुनौती भएको भनाइ भेलाले दिएको छ।

तरङ्गिनी फाउन्डेशन विगत नौ वर्षदेखि लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा कार्यरत संस्था हो। संस्थाका सहायक परियोजना अधिकृत अश्लेषाले भनिन्, “परिवर्तनको आधार युवा हुन् भन्ने विश्वासका साथ यो भेलाले लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा युवाको भूमिकाबारे साझा बुझाइ बनाएको छ।”

ओरेक नेपालका कार्यकारी निर्देशक सुनीता मैनालीले युवाले संगठन र भू–राजनीति बुझ्न आवश्यक रहेको बताउँदै, “युवा त्यस्तो शक्ति हुन् जसले राज्यमा असमान शक्ति सम्बन्ध अन्त्य गर्न सक्छन्,” भनिन्।

भेलामा सहभागी युवा नबिन राईले आगामी निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न र जेनेरेसन जेडको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे।

कार्यक्रमले युवाबिच साझा धारणा बनाउने, लोकतन्त्र सुदृढीकरणका लागि एकजुट बनाउने र निर्वाचनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको थियो। भेलाले जारी गरेको १३ बुँदे घोषणापत्रमा लोकतन्त्रप्रति युवाको जिम्मेवारी, राज्यको जबाफदेहिता र शिक्षित तथा जिम्मेवार समाज निर्माणमा प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button