तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावली दर्तामा युवाहरूको सक्रिय सहभागिता

कार्तिक १९ गतेसम्म निर्वाचन आयोगमा एक लाख २४ हजार जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् भने दैनिक ८ हजारभन्दा बढीले नाम दर्ता गराएको र त्यसमा पनि युवा पुस्ता बढी सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुहुन्छ ।

काठमाडौँ । फोटोसहितको मतदाता नामावली दर्ताको अन्तिम समय सीमा कात्तिक ३० गते सकिन केही दिन मात्रै बाँकी रहँदा युवा पुस्ताका मतदाताहरूले सक्रिय रूपमा मतदानका लागि नाम दर्ता गराउने क्रम बढेको छ ।

देशभित्र जो जहाँ भए पनि त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्थाका कारण देशैभरका निर्वाचन कार्यालयहरूमा दिनानुदिन भिड बढेको छ ।

जेनजी आन्दोलनको उपलब्धि स्वरूप बनेको नयाँ सरकारले अध्यादेशमार्फत मतदान गर्न छुटेका युवाहरूलाई नै लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका अनुसार १६ वर्ष उमेर पुगेकाले नाम दर्ता गर्न पाउने र १८ वर्ष उमेर पुगेकाले मतदान गर्न सक्नेछन् ।  

निर्वाचन कार्यालयमा नाम दर्ता गराउन पुगेका युवाहरू निर्वाचनमार्फत आफूले चाहेको प्रतिनिधि चुन्न उत्साहित देखिन्छन् । गुल्मी स्थायी घर भई काठमाडौँ बस्दै आउनुभएकी मुस्कान कुँवर यतैबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा निकै उत्साहित देखिनुहुन्छ । उहाँ साँढे तीन घण्टा लाइन बसेर नाम दर्ता गर्न पाउँदा खसी लागेको बताउनुहुन्छ । 

यसै गरी पाल्पामा नाम दर्ता गराएका अर्का युवा प्रशान्त गैरे पनि पहिलोचोटी सक्षम नेतृत्व चुन्ने पाउने खुसी व्यक्त गर्नै नसकेको बताउनुहुन्छ । 

आयोगका अनुसार पछिल्लो समय नाम दर्ता गर्नेहरूको बढी भिड लागेको छ । कार्तिक १९ गतेसम्म निर्वाचन आयोगमा एक लाख २४ हजार जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् भने दैनिक ८ हजारभन्दा बढीले नाम दर्ता गराएको र त्यसमा पनि युवा पुस्ता बढी सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुहुन्छ ।

आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको लिङ्कमार्फत आफ्नो व्यक्तिगत विवरणहरू भरेपछि नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाइ बायोमेट्रिक गराउन सकिने सुविधा छ । कार्तिक ३० गतेसम्म  झन्डै दुई लाख बढी नयाँ मतदाता थपिने अनुमान गरिएको छ । समय सकिनै लाग्दा सेवाग्राही बढेकाले त्यसलाई सहज बनाउन आयोगले थप जनशक्तिको व्यवस्था गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आयोगले दैनिक भीड बढेपछि आवश्यक जनशक्ति र साधनहरूको पनि जोहो गरेको छ । 

मतदाता विना कुनै पनि निर्वाचन सम्भव नहुने र आफूले रोजेको प्रतिनिधि चुन्न फागुन २१ गते हुने आम निर्वाचनमा मतदान गर्न कतै तपाइ छुट्नु भएको त छैन ? यदि मतदाता नामावलीमा तपाईँको नाम छैन भने आजै नजिकको निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुहोला । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button