तपाईँ सुन्दै हुनुहुन्छः

भाडाको खेतमा तरकारी फलाएर मासिक ७० हजार आम्दानी गर्दै महतो

रौतहट। रौतहटका चन्द्रपुर नगरपालिका–५ थलाहीटोलका ५१ वर्षीय किसान राजेन्द्र महतोले बैमौसमि तरकारी खेतीबाट लोभलाग्दो कमाई गरिरहनुभएको छ ।

 अर्काको खेत भाडामा लिएर तरकारी खेतीबाट उहाँले मासिक रु ७० हजारको कमाई गर्दै आउनुभएको हो । उहाँले डेढ बिघा जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ भने कमाइसँगै परिवारको जीवनस्तरमा पनि सुधार आएको छ ।

महतोले बताउनुभयो, “सर्लाहीमा २४ बिघा क्षेत्रफलमा लगाएको उखु मिलले समयमा नकिनेपछि ठूलो घाटा भयो। सबै सम्पत्ति बेचेर सात वर्षअघि रौतहटको चन्द्रनिगाहपुर आएँ र यहीँ खेत भाडामा लिएर तरकारी खेती सुरु गर्नुभयो ।”

उहाँले सर्लाहीमा पनि अर्काको खेत भाडामा लिएर उखु खेती गर्नुभएको थियो । तर उखु खेतीमा घाटा भएपछि ऋणको बोझ बोक्दै रौतहट आउनु भएका महतो अहिले तरकारी खेतीबाट आत्मनिर्भर बन्नुभएको छ।

महतोका अनुसार बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म उनी बारीमै व्यस्त रहनुहुन्छ। “सात वर्षको मेहनतमा अनुदानको नाममा मैले एक रुपैयाँ पनि पाएको छैन,” उहाँले भन्नुभयो, “तरकारी खेतीकै आम्दानीबाट एक छोरालाई कम्प्युटर इन्जिनियर बनाएँ, छोरीको बिहे गरेँ र अर्को छोरालाई काठमाडौँको निजी कलेजमा पढाइरहेको छु ।”

व्यावसायिक रूपमा खेती गर्दै आउनु भएका महतोले चारदेखि पाँचजना कामदार राखेर खेती गर्ने गर्नुभएको छ। उहाँका अनुसार अहिले मासिक झण्डै ७० हजार रुपैयाँसम्म बचत गर्न सकिने भएको छ ।

महतोले गुनासो गर्दै भन्नुभयो, “नगरपालिकाका कर्मचारीहरू आएर राम्रो गरेको रहेछौ भन्छन् तर कुनै सहयोग गर्दैनन् । अनुदानको कुरा त परै जावस्, उल्टो मेरो बारीको फोटो खिचेर झोले किसानहरूले अनुदान लिन्छन् ।”

उहाँका अनुसार केही समयअघि नगरपालिकाको अनुदानमा टनेल बनाइदिन्छु भन्ने व्यक्तिले उल्टै ३० हजार रुपैयाँ मागेको थियो । “७० हजारमा बन्ने टनेलको लागि नगरपालिकाबाट २ लाख निकासा भएको सुनेको छु,” उहाँले बताउनुभयो । “सक्कली किसानभन्दा झोले किसानले सहुलियतको ऋण पाउँछन्।”

महतोले थप भन्नुभयो, “मेरै बारीको फोटो खिचेर नक्कली किसानहरूले सहुलियतको ऋण र अनुदान लिने गरेकाले अब म कसैलाई पनि बारीमा फोटो खिच्न दिन्न ।”

उहाँले युवाहरूलाई पनि विदेशतिर मोह नगरी आफ्नै देशमा मेहनत गर्न सुझाव दिनुभयो। “देशमै खेतबारीमा पसिना बगाए राम्रो आम्दानी गर्न सकिन्छ,” उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button