करारका कर्मचारीद्वारा पालिकासहित कटहरियाका सबै वडामा तालाबन्दी

रौतहट । रौतहटको कटहरिया नगरपालिकासहित सबै वडा कार्यालयहरूमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु भएको तालाबन्दी र आन्दोलन आज छठौं दिनसम्म पनि जारी रहेको छ ।
लामो समयदेखि बक्यौता तलब र सेवा–सुविधा नपाएको भन्दै कर्मचारीहरूले दोस्रो पटक नगरपालिका कार्यालयदेखि वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण कार्यालयहरूमा तालाबन्दी गर्नुभएको हो । लगातार ६ दिनदेखि कार्यालय बन्द हुँदा सेवाग्राहीहरू अत्यावश्यक प्रशासनिक कामका लागि बिचल्लीमा पर्नुभएको छ । नागरिकता, जन्म–मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता, र अन्य सेवा लिन आएका स्थानीयहरू वडा कार्यालय बन्द भएपछि निराश हुँदै फर्किन बाध्य हुनु भएको छ ।

आन्दोलनरत कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभएको छ । उहाँहरूका अनुसार, पटक–पटक आश्वासन दिइए पनि तलब–भत्ता भुक्तानीको प्रक्रिया अघि बढाइएको छैन ।
नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकासा गर्न निर्देशन दिएको दाबी गरे पनि अधिकृत गणेश नेपाली सरुवा लिएर रमाना भइसकेको बताइएको छ । आन्दोलनरत कर्मचारीहरूले भने मेयरकै बदनियतका कारण समस्या समाधान हुन नसकेको आरोप लगाउँदै आएका छन् । “हामीले गतपटक पनि विश्वास गरेका थियौँ, तर फेरि झुक्याइयो,” आन्दोलनरत कर्मचारी मुकुन्द यादवको भनाइ छ ।
यसअघि दशैं सकिए लगत्तै करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलन तीव्र बन्दै गएपछि नगरप्रमुख जयसवालले तिहारअघि तलब–सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उहाँहरूले आन्दोलन स्थगित गर्नुभएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि कर्मचारीहरू पुनः गत कार्तिक १२ गतेबाट आन्दोलित बन्नुभएको छ ।
दलित प्राविका अभिभावकहरू पाँच वर्षको हिसाब खोज्दै
यसैबीच, कटहरिया–४ बलिरामपुरस्थित श्री दलित प्राथमिक विद्यालयमा पनि अभिभावकहरूले अनिश्चितकालीन तालाबन्दी गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक प्रभु महतो र विद्यालय व्यवस्थापन समिति अध्यक्षले पाँच वर्षदेखि आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको र तीन वर्षदेखि २ सय ७३ विद्यार्थीको छात्रवृत्ति वितरण नगरेको आरोप लगाउँदै अभिभावकहरूले विद्यालयमा तालाबन्दी गर्नुभएको हो ।
अभिभावकहरूका अनुसार, विद्यालयमा पारदर्शिता नहुँदा विद्यार्थीको हित प्रभावित भएको छ । “बच्चाहरूको छात्रवृत्ति कहाँ गयो भन्ने नै थाहा छैन,” एक अभिभावकले बताइन्, “अब हिसाबकिताब सार्वजनिक नभएसम्म विद्यालय नखुल्ने ।”
प्रधानाध्यापक प्रभु महतोले भने अभिभावकहरूसँग छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उहाँले विद्यालय सञ्चालन र आर्थिक पारदर्शिताबारे सहमति जुटाउने प्रयास भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्