धनुषामा अटोलाई बसले ठक्कर दिँदा ४ को मृत्यु चार गम्भीर घाइते
जनकपुरधाम। धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्र बजारमा बसले अटोलाई ठक्कर दिंदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी तर्फ जाँदै गरेको सुदूर पश्चिम प्रदेश नम्बर ०–१–००१–६ ख ३२८८ नम्बरको बसले मधेश प्रदेश नम्बर २–०–००१–१२३० को अटोलाई ठक्कर दिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उहाँकी ३५ वर्षीया श्रीमती निशा मगर, रमेशका ३५ वर्षीय भाई शम्भु मगर र अटो चालक ३४ वर्षीय डम्बर राई रहेका छन्। गम्भीर घाइतेमा रमेशका छोरी १४ वर्षीया शीतल मगर र छोरा ९ वर्षीय रोशन मगर सहित चार जना छन्।
घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुरधाम र न्युरो अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। मृतक र गम्भीर घाइते सबै एउटै परिवारका रहेका छन्। दुर्घटनापछि स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग बन्द गरेर विरोध प्रदर्शन गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली राजमार्ग खोल्न र पीडितको अवस्था बुझ्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्