तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ल्याइयो एनपीएलको ट्रफी

रुपन्देही । सिद्धार्थ बैङ्क नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ । ट्रफी टुर अन्तर्गत शनिवार भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । 

शनिवार बिहान रुपन्देही ल्याइएको एनपीएलको ट्रफीलाई जिल्लाका पुरातात्त्विक र ऐतिहासिक स्थानमा पुर्‍याएर प्रदर्शन गरिएको छ । ट्रफी टुरका लागि बिहान साढे ९ बजे बुद्ध एयरको जहाजमार्फत ट्रफी भैरहवा ल्याइएको थियो । बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएसँगै लुम्बिनी हुँदै विभिन्न स्थानमा घुमाइएको छ ।

काठमाडौँबाट बाकसमा ल्याइएको ट्रफी एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ग्रहण गर्नुभयो । विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ग्रहण गरे लगत्तै बाजागाजासहित स्वागत गरिएको थियो । ट्रफीको स्वागतका लागि लुम्बिनी लायन्सका सदस्य, रुपन्देही क्रिकेट संघका पदाधिकारी, क्रिकेट प्रेमी र सर्वसाधारण विमानस्थल पुगेका थिए । स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड पुगेको थियो ।

लुम्बिनी लायन्सका मेन्टर शक्ति गौचनका अनुसार विमानस्थलबाट ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगिएको छ । त्यहाँ ट्रफी सार्वजनिक गरेपछि फर्काएर भैरहवास्थित सिद्धार्थ रङ्गशालामा स्वागत गरियो  । त्यसपछि रुपन्देहीको बेलहिया नाका हुँदै तिलोत्तमा नगरपालिकामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला पुर्‍याइनेछ । एक्स्ट्राटेक लुम्बिनी लायन्सको घरेलु मैदान हो । दिनभर सञ्चालन गरिएको ट्रफी टुरमा वर्तमान र पूर्व खेलाडी, क्रिकेट प्रेमी, क्रिकेट संघका पदाधिकारी र खेल प्रेमीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button