तपाईँ सुन्दै हुनुहुन्छः

‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी: सेना

काठमाडौँ । मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।राससले ‘हिडन भ्याली’ मा तीन बेलायती महिला र  १२ स्वदेशी पर्यटक समस्यामा’ शीर्षकमा आज मध्याह्न समाचार सम्प्रेषण गरेको थियो । 

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पर्यटक (उनीहरू)को अवस्था सामान्य रहेको र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेको छ ।”

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएका थिए । 

यसैबिच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।   

सैनिक प्रवक्ता  बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो । 

मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याइएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button