तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलको आम्दानीको भरपर्दो स्रोत च्याउ खेती

अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउ खेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउ खेती गर्दै आउनुभएको हो । 

पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट च्याउ खेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउ खेती गरिरहनुभएको छ ।  बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उहाँले त्यसबाट मनग्य आम्दानी गरिरहनुभएको छ । चौधरीले भन्नुभयो, “पहिले ज्ञान, सीप कम थियो । छ महिना मात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।”

सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुने उहाँले सुनाउनुभयो । हाल बजारमा च्याउ प्रतिकिलो रु १८० का दरले बिक्री भइरहेको छ । चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।”

चौधरी च्याउ खेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउनुहुन्छ । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाई लेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उहाँले जानकारी दिनुभयो । यसबाटै भएको कमाई बाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताउनुभयो । 

“आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु”, चौधरीले भन्नुभयो, “हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति रु छ सयदेखि ७०० सम्म ज्याला दिने गरेको छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button