एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रेको काम सुरु
झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रे सुरु भएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटरमध्ये अढाई किलोमिटर सडकमा कालोपत्रे गरिएको काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ ।

बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा कालोपत्रे धमाधम भइरहेको छ । काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको रफ्तार बढाएको जानकारी दिनुभयो । बर्खा सकिएको र अब चाडपर्वपछि कामको गति अझै बढ्ने उहाँको भनाइ छ । पहिलो सतहको कालोपत्रे भएको सडकमा माथ्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्रे थपिने पन्तले बताउनुभयो ।
एसियाली विकास बैङ्कको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एसियन हाइवेको पूर्वी खण्ड काँकडभिट्टादेखि केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ । निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ वटाको निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।
यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण कार्य समेत धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताउनुभयो । मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र बिर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ओभरपास निर्माण धमाधम भइरहेको छ ।
आधुनिक मोडेलका ओभरपासमा मानिस र सवारी साधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ निर्माण हुने उहाँले बताउनुभयो । मेचीनगरको चारआली जङ्गल क्षेत्रमा पर्ने सडकमा हात्ती लगायतका जङ्गली जनावर ओहोरदोहोर गर्नका लागि एनिमल अन्डरपास पुल निर्माण भइरहेको छ ।
पूर्वीखण्डको १८ वटा पुलमध्ये अधिकांशको काम समेत भइरहेको पन्तको भनाइ छ । हालसम्ममा सो सडक खण्डको निर्माणको भौतिक प्रगति २७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्