पोखरामा सयपत्री फूलको बिक्री केन्द्र सहित मूल्य निर्धारण,प्रति माला १ सय देखि १ सय ५० मा बिक्री हुने
पोखरा । पोखरा महानगरपालिकाले तिहार पर्वलाई लक्षित गर्दै स्थानीय सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । महानगरले सरोकारवालाहरूसँगको छलफलपछि फूलको ग्रेडिङ अनुसार मूल्य तोक्नुका साथै बिक्री केन्द्रहरू समेत निर्धारण गरेको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

उहाँका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकृत सयपत्री फूलको मूल्य तोकिएको छ । ‘ए’ ग्रेडका फूल (१५–२० ग्राम) प्रति थुङ्गा रु ५, प्रति माला रु १५० र प्रतिकेजी रु ३०० देखि ४०० सम्म तोकिएको छ । यस्तै ‘बी’ ग्रेडका फूल (१०–१५ ग्राम) प्रति थुङ्गा रु ४ र प्रति माला रु १३०, ‘सी’ ग्रेडका फूल (५–१० ग्राम) प्रति थुङ्गा रु २ र प्रति माला रु १०० रुपैयाँ कायम गरिएको छ ।
यस वर्ष पोखरा महानगर क्षेत्रका करिब २५ भन्दा बढी स्थानमा स्थानीय सयपत्री फूलको बिक्री केन्द्र तोकिएको छ । ती केन्द्रहरूमा यही कात्तिक ३, ४ र ५ गते फूल बिक्री हुनेछ ।
महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको र यस वर्ष करिब ३ लाख माला उत्पादन हुने अनुमान गरिएको छ । सोअनुसार करिब ३ देखि ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको कडरियाले दाबी गर्नु हुन्छ ।
पोखराका मेयर धनराज आचार्यले पोखरा महानगर स्थानीय सयपत्री फूल उत्पादनमा आत्मनिर्भर भइसकेको बताउँदै प्लास्टिकका फूलमालाको प्रयोग नगर्न आग्रह गर्नुभएको छ । उहाँले यस वर्षको दीपावली स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूलमै मनाउन सबैलाई आग्रह गर्नुभएको छ । महानगरले कृषकहरूलाई मल, बिउ, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्यमार्फत निरन्तर सहयोग गर्दै आएको पनि आर्थिक विकास महाशाखाले जनाएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्रीराम सुवेदीका अनुसार पोखरामा प्रयोग हुने फुलको करिब ९० प्रतिशत स्थानीय उत्पादनबाटै पूरा हुने बाँकी १० प्रतिशत फुल धादिङ, गोर्खा, पाल्पा, बनेपा लगायत क्षेत्रबाट भित्रिने बताउनु भयो ।

हाल फानमा आवद्ध ५३ नर्सरीमध्ये ४६ वटा सक्रिय रूपमा फुल उत्पादन र कारोबारमा संलग्न छन्। गत वर्षको तुलनामा यस वर्ष फुल उत्पादन वृद्धि भएको कम मूल्यमा फुल उपलब्ध हुने भएको पूर्व अध्यक्ष दया कुमार द्धवाले बताउनुभयो ।
यसैबिच, पोखरा १३ वडा कार्यालयमा यस बर्ष सयपत्री फूल मेला हुने भएको वडा अध्यक्ष किरण बरालले बताउनुभयो । स्थानीय रुपमा उत्पादन भएको सयपत्री फूलको मूल्य र सहज ढंगले उपलब्ध गराउन वडामा कार्त्तिक ३ देखि ६ गतेसम्म मेला आयोजना हुने भएको उहाँले जनाउनुभयो ।
पछिल्ला वर्षमा फुल उत्पादनमा किसानको आकर्षण बढ्दै गएकोले स्वदेशी फुलले पोखराको बजार धान्न थालेको छ र यस वर्ष पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महानगरले नीति लिएको छ । पोखरा महानगरले पोखरामा प्लास्टिकजन्य फूलहरू बिक्री वितरणमा पूर्ण रुपमा बन्द गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्